श्री बौद्धनाथ क्षेत्र विकास समिति, विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले मिति २०५३ सालमा यस श्री बौद्धनाथ क्षेत्र विकास समिति गठन गरेको हो । सन् १९७९ देखी बौद्धनाथ यूनेस्को विश्व सम्पदा सूचिमा सुचिकृत धार्मिक ऐतिहासिक एवं सास्कृतिक धरोहर हो । यो विश्वभरीका बौद्ध मार्गीहरुको आस्थाको केन्द्र पनि हो ।बौद्धनाथ महास्तुप काठमाडौंको सबै भन्दा बढि पर्यटकहरुले अवलोकन गर्ने स्थान मध्यको एक हो । यस समितिको काम कर्तव्य अन्तर्गत बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरु स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने, यस क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तराष्ट्रिय संघ, संस्था वा व्यक्तिहरुसँग सम्पर्क र समन्वय गर्ने, पर्यटकको लागि उपयुक्त हुने स्थानहरुमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरु स्वीकृत गर्ने, यस क्षेत्र भित्रका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम गर्ने, यस क्षेत्र भित्रका सरकारी, गैर सरकारी तथा निजी क्षेत्रबाट संचालन हुने विकास निर्माणका कार्यहरु संचालन गर्ने निकायहरु बीच समन्वय कायम गर्ने लगायत यस गठन आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नु पर्ने अन्य कार्यहरु गर्ने, गराउने जस्ता काम कर्तव्य तोकिदिएको छ । यिनै उद्देश्य तथा काम कर्तव्यभित्र रही श्री बौद्धनाथ स्तुपा, यसको परिसर, शान्ति बाटिका, बुद्ध धर्म, यहा आउने पर्यटक तथा धर्मावलम्बी र यिनै कुराहरुको प्रगति, उन्नति, प्रचार प्रसार आदि कार्य यस समितिले स्थापना कालदेखि हाल सम्म इमान्दारीकासाथ उल्लेखनीय काम गर्दै आइरहको छ ।
काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा युनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत रहेकोे बौद्ध स्तुप नेपालका विभिन्न प्रख्यात बौद्ध तिर्थस्थल मध्ये एक प्रमुख तिर्थस्थल हो । तिब्बत लगायत विश्वभर प्रसिद्ध यो तिर्थस्थल पहिले खास्ती चैत्यको नामले चिनिन्थ्यो ।आजभोली यसलाई बौद्धनाथ, बौद्ध स्तूप, खास्ती चैत्य पनि भन्ने गरिन्छ । यस स्तुप बौद्ध र हिन्दू तीर्थयात्रीहरूको लागि महत्त्वपूर्ण तीर्थस्थल हो। युनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत (१९७९) एवं संरक्षित स्मारक क्षेत्रमा पर्ने यस स्थलको निर्माणका सम्बन्धमा विभिन्न किम्बदन्तीहरू पाइएका छन् ।यो चैत्य निर्माण सम्बन्धमा अनेक किम्बदन्तिहरू पाइएपनि यो चैत्य कहिले र कसले निर्माण गरेको हो भन्ने प्रामाणिक इतिहास हाल सम्म प्राप्त भएको छैन ।
किम्बदन्तिहरू अनुसार भने यसको निर्माण लिच्छविकाल तिरै भएको बुझिन आउँछ । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथ स्तुपको नाम समयसँगै भाषामा आएको परिवर्तनमा खसो चैत्य र पछि खास्ति भएको देखिन्छ । केही दशक अगाडिसम्म सबैले खास्ति नै भन्ने गरेतापनि आजभोलि नेवार जातीले मात्र खास्ति भन्ने गरेको पाइन्छ ।
बौद्धनाथ स्तुप सम्भवतः विश्वकै ठूलो चैत्य नेपालको काठमाडौँ जिल्लामा अवस्थित छ । विश्व सम्पदा क्षेत्रमा पर्ने सम्पदा मध्येको यस स्तुप देश तथा विदेशी बौद्ध धर्मावलम्वीहरूका आस्थाको केन्द्र रहेको छ ।तिब्बती तीर्थयात्रीहरू तथा बौद्ध धर्मका अनुयायीहरू माने घुमाउँदै मन्त्र जप गर्दै यसको परिक्रमा गर्ने गर्दछन् । बौद्ध धार्मिक आस्था भएका तथा समस्त नेपाली र विश्व जगतको पर्यटकीय केन्द्र रहेको यस स्तुपको निकै महत्व रहेको छ । काठमाडौँ उपत्यकामा भएका ठूला स्तुपमा बौद्ध र स्वयम्भूका स्तुप हुन् ।यी दुबै स्तुपको वास्तुकला झ्वाट्ट हेर्दा उस्तै देखिएता पनि यसमा धेरै भिन्नताहरू पनि छन् ।
बौद्धनाथ क्षेत्र विकास समितिको गठन भए पछि यस स्तूप एवं परिसरको संरक्षण व्यवस्थापनको कार्य यसै समितिबाट हुँदै आएको छ । यस क्षेत्रको मूर्त सम्पदा महत्व पूर्ण भए जस्तै यहाँका अमूर्त सम्पदाहरू अति नै महत्वपूर्ण छन् । बहुभाषी, बहुसांस्कृतिक सम्पदाको धनी मुलुक नेपालमा प्रत्येक भाषाभाषी जनजातिको बसोबास रहेको पाइन्छ । उनीहरुसँगै आआफ्नो रीतिरिवाज संस्कार र संस्कृति पनि रहेको पाइन्छ । त्यससँगै जोडिएर आएको मौलिक चाडपर्व र जात्रामात्राले आआफ्नै किसिमको स्थान ओगट्दै आएको पाइन्छ ।